कसैले पनि एक्लै सुत्केरी हुनुपर्दैन।

डुलाहरू गर्भावस्था, गर्भपात (miscarriage), गर्भपतन (abortion), सुत्केरीको समय, तथा अभिभावकत्वको यात्रामा तपाईंलाई साथ र सहयोग गर्न यहाँ छन्।

डुलाहरू तालिम प्राप्त सहयोगी तथा साथी हुन्, जसले तपाईंका चिन्ता सुन्छन्, आवश्यक सहयोग प्रदान गर्छन्, र तपाईंका आवश्यकताका लागि आवाज उठाउन मद्दत गर्छन्। उनीहरू समुदायका सदस्य हुन् र तपाईंले बोल्ने भाषाहरू बोल्छन् ।

डुलाहरू के गर्छन्?

डुलाहरूले तपाईंलाई १–१ रूपमा सहयोग गर्दै शिक्षा, भावनात्मक साथ, र शारीरिक सहयोग प्रदान गर्छन्, जस्तै:

  • तपाईंका चिन्ता र प्रश्नहरू ध्यानपूर्वक सुन्ने, र कुनै पनि पूर्वाग्रह बिना तथ्यमा आधारित, समयमै, र सांस्कृतिक रूपमा सान्दर्भिक जानकारी तथा शिक्षा प्रदान गर्ने। उदाहरणका लागि, डुलाले तपाईंलाई यसबारे सिकाउन सक्छन्:

    ○ तपाईंको शरीरमा हुन सक्ने परिवर्तनहरू र ती परिवर्तनका बेला सही पोषण कसरी लिन सकिन्छ

    • दुखाइ व्यवस्थापनका तरिकाहरू (सास फेर्ने अभ्यास, आराम गर्ने विधि, शरीरको सही अवस्था, मसाज आदि)

    • सम्भावित जटिलताहरू, चिकित्सकीय प्रक्रिया, र त्यसका लागि कसरी तयारी गर्ने

    • सुत्केरीपछि कसरी निको हुने र आफ्नो हेरचाह कसरी गर्ने

    • नवजात शिशुको हेरचाह - दूध खुवाउने, स्तनपान, निद्रा, खतराका संकेतहरू आदि

  • चिकित्सा प्रणाली र तपाईंका विकल्पहरू बुझ्न मद्दत गर्ने, प्रश्न सोध्न र छलफल गर्न प्रोत्साहन गर्ने, तथा तपाईंका योजना, चाहना, र चिन्ताहरूका लागि आवाज उठाउन सहयोग गर्ने (अपोइन्टमेन्टमा सहभागी हुने, अस्पतालका कर्मचारी वा परिवारसँग निर्णयहरू स्पष्ट रूपमा बताउन मद्दत गर्ने)

  • सुत्केरीसम्बन्धी चाहना र प्राथमिकताहरूको सूची बनाउन सहयोग गर्ने, ताकि तपाईंको सुत्केरी प्रक्रिया कस्तो हुने भन्नेमा तपाईंको पनि सहभागिता रहोस् र तपाईं र तपाईंको बच्चाका लागि सबैभन्दा राम्रो निर्णय लिन सकियोस् ।  

  • डायपर, कपडा, कार सिट जस्ता बच्चाका सामग्रीहरू सहित आवश्यक स्रोतहरूसँग तपाईंलाई जोडिदिने।

  • सुत्केरीको समय र सुत्केरीपछि  तपाईंको भलाइको ख्याल राख्दै र अभिभावकत्वमा सहज रूपान्तरणमा सहयोग पुर्‍याउन पोषणयुक्त वातावरण सिर्जना गर्ने ।

महत्त्वपूर्ण: डुलाले कुनै प्रकारको चिकित्सा सल्लाह वा निदान प्रदान गर्दैनन्। उनीहरूले डाक्टर, सुत्केरी सहायिका (मिडवाइफ), नर्स, वा अन्य स्वास्थ्यकर्मीले दिएको सिफारिस परिवर्तन गर्दैनन्। डुलाहरूले कुनै पनि चिकित्सकीय वा चिकित्सासम्बन्धी काम गर्दैनन् (जस्तै योनी परीक्षण, भ्रूणको मुटुको धड्कन जाँच्ने, बच्चा निकाल्ने आदि) र सुत्केरी हुने व्यक्तिका लागि निर्णय लिँदैनन् वा कुनै दबाब दिँदैनन्।

डुलाहरूले जीवनसाथी वा पार्टनरको भूमिकालाई कहिल्यै प्रतिस्थापन गर्दैनन्। बरु, उनीहरूले पार्टनरको सहभागितालाई प्रोत्साहन गर्दै, हौसला र आश्वासन दिएर सबैको अनुभव अझ राम्रो बनाउने काम गर्छन्।

डुला सेवाका फाइदा

डुला सेवाले सुत्केरीसँग सम्बन्धित राम्रो नतिजा ल्याउन सक्छ, जस्तै:

●      सुत्केरी समय छोटो हुनु

●      शल्यक्रियामा आवश्यकता कम हुनु

●      योनी सुत्केरीमा औजार (फोर्सेप वा भ्याकुम) प्रयोगको आवश्यकता कम हुनु

●      सुत्केरीको समयमा औषधि र बेहोस पार्ने आवश्यकता कम हुनु

●      बच्चा समयभन्दा पहिले जन्मिनु वा तौल कम हुनुको जोखिम कम हुनु

●      नवजात बच्चा आईसीयू पठाइने जोखिम कम हुनु

●      बच्चाको शिशु स्वास्थ्य परीक्षण (एप्गार स्कोर) (हृदयगति, श्वासप्रश्वास, मांसपेशीको अवस्था) सुधार हुनु

●      स्तनपान दरमा सुधार

●      आमा-बच्चा सम्बन्धमा सुधार

●      सुत्केरी अनुभव बढी सन्तोषजनक हुनु

प्रसूति पछिको सुत्केरीपछि मानसिक उदासी (डिप्रेसन)को दर कम हुनु

डुला कसरी पाउन सकिन्छ?

जो कोही पनि एलम्हर्स्ट अस्पताल वा क्विन्स अस्पताल मा गर्भावस्था वा प्रसूति पछिको हेरचाह प्राप्त गर्दै छन्, उनीहरू होप कार्यक्रमका लागि योग्य छन्।

होप डुला सेवाको लागि अनुरोध गर्न, कृपया आफ्नो स्वास्थ्यकर्मीलाई अर्को भेटमा होप कार्यक्रममा रेफरलको लागि सोध्नुहोस्, वा ६४६-६१९-६७२१ (646-619-6721) मा कल गरी होपमा रेफरलको अनुरोध गर्नुहोस्।


यदि तपाईं न्यूयोर्क सिटीमा हुनुहुन्छ र होपका लागि योग्य हुनुहुन्न भने पनि, तपाईं सहरभरि डुला पहल मार्फत सस्तो वा निःशुल्क डुला सेवा प्राप्त गर्न सक्नुहुन्छ। न्यूयोर्क सिटी बाहिरको क्षेत्रमा डुला खोज्न तपाईं डोना (DONA) मार्फत गर्न सक्नुहुन्छ।